राजकुमार सिलवालद्वारा बागमती प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा

चितवन — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नम्बर १ बाट राजकुमार सिलवालले बागमती प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।


लामो समयदेखि कांग्रेसको राजनीति र संगठनमा सक्रिय सिलवालले पार्टीभित्र देखिएका कमजोरी र गलत प्रवृत्तिबारे प्रश्न उठाउँदै सुधार र परिवर्तनको पक्षमा आफ्नो धारणा राख्दै आएको बताएका छन्। बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको संगठनात्मक अभ्यास र कार्यशैलीमा सुधार आवश्यक रहेको उनको भनाइ छ।

सिलवालले वि.सं. २०५९ मा जनआदर्श कलेजको नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय इकाइ सदस्य, नेपाल शिक्षक संघको क्षेत्रीय सचिव तथा राप्ती नगर सभापतिसहित विभिन्न संगठनात्मक जिम्मेवारी सम्हालेका छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट उनी राप्ती नगर कार्यसमितिको सचिवमा निर्वाचित भएका थिए।
अंग्रेजी विषयमा स्नातकोत्तर गरेका सिलवाल हाल प्राध्यापन र व्यवसायमा संलग्न छन्। शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय रहँदै आएका उनी राजनीतिक गतिविधिसँगै सामाजिक कार्यमा निरन्तर जोडिँदै आएका छन्।

पार्टीभित्र नीति, आचरण र कार्यशैलीका विषयमा आलोचनात्मक धारणा राख्दै आएका सिलवालले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, विचारको बहस र सुधारको संस्कारलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। नयाँ पुस्ताको अपेक्षा र कार्यकर्ताको भावनालाई संगठनसँग जोड्दै पार्टीलाई समयअनुकूल बनाउनुपर्ने उनको धारणा छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। चितवनका ९८ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमितिको चयन प्रक्रियामा सहभागिता जनाउनेछन्। 

यसै प्रक्रियाअन्तर्गत सिलवालले चितवन क्षेत्र नम्बर १ बाट बागमती प्रदेश प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

सम्बन्धित समाचार