क्याट युकेले २८ जुलाईमा फायर वाक गर्ने, चितवनका असहाय बालबालिकाको सहयोगमा कोष अभिवृद्धि गर्ने

चितवन घर भई बेलायतमा बस्ने चितवनवासीहरुको संस्था चितवन एड ट्रष्ट यूके (क्याट यूके) ले लन्डनमा फायर वाक (आगोमा हिंड्ने) कार्यक्रम गर्ने भएको छ ।
चितवनका असहाय बालबालिकाको सहयोगको लागी कोष अभिवृद्धि गर्न आउंदो २८ जुलाईमा च्यारिटी डिनर हुन लागेको हो । आयोजक संस्थाले आइतबार नर्थ ह्यारोस्थित सरस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरि कार्यक्रमको जानकारी दिएको हो । सो अवसरमा सांस्कृतिक कार्यक्रम र चितवनबाट बेलायत आएर समाजमा विशेष योगदान गर्ने ५ जना व्यक्तित्वलाई सम्मान पनि गरिने बताएको छ । ब्लु रुम स्पोर्टस् भेन्यू ह्यारोमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ पाउण्ड तोकिएको छ । अण्डर ५ का लागि प्रवेश निशुल्क छ । अध्यक्ष कृष्ण तिवारीले कार्यक्रममा सहभागी भइदिन सबैमा अपिल गरे । उनले सो अवसरमा नेपालका राष्ट्रियस्तरका कलाकारको समेत प्रस्तुति रहने बताए । उनले ३५ पाउन्डमा डिनर, नाचगान र आगोमा हिंड्न पाइने जनाउंदै भरपुर मनोरन्जन लिन बेलायतवासी सबैमा अनुरोध गरे । आगोमा हिंड्नु मानिसका लागि लाभदायक हुने कार्यक्रम संयोजक कृष्ण गुरुङले बताएका छन् । संयोजक गुरुङले डायष्पोरामा फायर वाक अवसर प्रदान गर्न फायर वाक यूके कम्पनीको सहकार्यमा यो कार्यक्रम गर्न लागिएको जनाए । फायर वाक इन्सट्रक्टर समेत रहेका गुरुङले आगोमा हिंड्दा सेल्फ इम्पावरमेन्ट, पोजिटिभिटी, निर्णय गर्न सक्ने आत्मविश्वास र दिमागको शक्ति वृद्धि गर्ने बताए । उनले आउट डोरमा हुने उक्त फायर वाकका लागि ‘हेल्थ एण्ड सेफ्टी’ मापदण्ड पुरा र इन्सुरेन्स समेत गरिने बताएका छन् ।
कार्यक्रममा ट्रष्टी यादव श्रेष्ठले सन् २००४ मा स्थापित चितवन एड ट्रष्ट यूकेले गरेका गतिविधिबारे जानकारी दिएका थिए । उक्त संस्था सन् २०१४, ९ सेप्टेम्बरमा च्यारिटीमा दर्ता भएको थियो । श्रेष्ठले भरतपुर अस्पतालमा ब्लड उपलब्ध गराउने उद्देश्यबाट शुरु संस्थाले स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको बताए । अयोध्यापुरी माडीमा एम्बुलेन्स, भूकम्पका बेला राष्ट्रिय प्रावि स्कुल पुनर्निर्माणमा करिब १३ हजार पाउण्ड सहयोग, स्वास्थ्य घुम्ती शिविर, भरतपुर अस्पतालमा आइ बैंकका लागि सहयोग, भरतपुर– ४ मा अपांगमैत्री पुस्तकालयका लागि सहयोग जस्ता कार्यमा करिब एक लाख एक हजार पाउण्ड सहयोग गरिसकेको जानकारी श्रेष्ठले दिए । संस्थाले यसबाहेक चितवनस्थित विपन्न वर्गका एकसय विद्यार्थीलाई पाठ्य सामग्री सहयोग र लन्डनमा ब्लड डोनेसन समेत गरेको थियो ।  पत्रकार सम्मेलनमा ट्रष्टीहरु टिका पौडेल, कृष्ण गुरुङ, यादव श्रेष्ठ, वसन्त श्रेष्ठ, राजु आचार्य, दीपेन्द्र अधिकारी, सल्लाहकार कमल पौडेल लगायतको सहभागिता थियो ।

 

सम्बन्धित समाचार